हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हालैको जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट जनधन र संरचनामा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
भदौ २३ र २४ गतेको प्रदर्शनमा हेटौँडास्थित प्रदेश सरकारका मन्त्रालय र कार्यालयमा भएको क्षति अवलोकन गर्दै उनले भने, “सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनु दुःखद् छ। तर, मर्मत छिट्टै सम्पन्न गरेर नागरिकलाई सेवाप्रवाहमा ढिलाइ नहुने व्यवस्था मिलाइनेछ।”
जेन–जी प्रदर्शनकारीले प्रदेशसभा सचिवालय भवनसहित नौ मन्त्रालय र तिनअन्तर्गतका कार्यालयमा तोडफोड र आगजनी गरेका थिए। भवनका सिसा फुटाइएका, फर्निचर जलाइएका र अभिलेख क्षतिग्रस्त भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र भौतिक पूर्वाधार मन्त्रालयलगायतका क्षतिग्रस्त भवनको निरीक्षण गरेका थिए।
प्रदेश सरकारका अनुसार सरसफाइ र पुनःस्थापनाका काम तीव्र गतिमा अघि बढाइनेछ र सेवा अवरुद्ध हुन दिइने छैन। मुख्यमन्त्रीले शान्तिपूर्ण आन्दोलनलाई समर्थन गर्दै तोडफोड र आगजनीजस्ता हिंसात्मक गतिविधि रोक्न सबैलाई आग्रह गरेका छन्।



Discussion about this post