सरगम तामाङ ।
काठमाडौं, ७ साउन । धुनिवेशी नगरपालिका–५ का किसान राजेन्द्र प्रसाद गर्तौला अहिले १६ रोपनी जमिनमा व्यावसायिक तरिकाले खेती गर्दै आत्मनिर्भर कृषकका रूपमा परिचित छन् । तर उनको यो सफलताको यात्रा भने २०७० सालमा लिएको जम्मा बिस हजार रुपैयाँ ऋणबाट सुरु भएको थियो । त्यतिबेला उनले लघुवित्त संस्था मार्फत सानो ऋण लिएर करेला र मकै खेती सुरु गरे, र क्रमशः अनुभव, आम्दानी र आत्मविश्वास सँगसँगै खेतीको क्षेत्र पनि विस्तार हुँदै गयो । राजेन्द्रले ऋण लिएर त्यसको सदुपयोग गर्न सकिएमा सानो लगानीले पनि ठुलो फाइदा दिन्छ भन्ने विश्वास राख्छन्, जसको उदाहरण उनी स्वयं हुन् ।
सुरुवातमा सानो भूभागमा खेती गर्दै आएका गर्तौलाले अहिले पाँच रोपनीमा करेला, पाँच रोपनीमा मकै र बाँकी जमिनमा काक्रो खेती गरिरहेका छन् । ऋण लिनु सानो कुरा भए पनि त्यसको जिम्मेवारी पूरा गर्नु ठुलो कुरा भएको उनी बताउँछन् । उनले लिएको ऋणको प्रयोग पूरै कृषि क्षेत्रमा गरे, बचत गरे, र फेरी उत्पादनमा लगानी गरे । यसरी क्रमशः उनी लघुवित्त संस्थाबाट सात लाख रुपैयाँसम्मको ऋण सहजै लिन सक्ने अवस्थामा पुगेका छन् र आवश्यक परेमा १० लाख रुपैयाँसम्म ऋण लिने क्षमता पनि राख्छन् ।
गर्तौला बैंकभन्दा लघुवित्त संस्थालाई प्राथमिकता दिन्छन् किनभने लघुवित्तले समयमै, सुलभ तरिकाले ऋण उपलब्ध गराउने हुँदा किसानका लागि धेरै उपयोगी भएको उनी अनुभव सुनाउँछन्। बैंकको प्रक्रिया झन्झटिलो र ढिला हुने हुँदा आफू जस्ता किसानका लागि लघुवित्त नै उत्तम विकल्प भएको उनले बताए । उनले ऋण लिने बेलामा उद्देश्य प्रस्ट हुनु पर्ने, त्यसअनुसार मात्र खर्च गर्नु पर्ने, र आम्दानीबाट किस्ता तिर्दै लगानी बढाउनुपर्छ भन्ने सिकाइ आफूले अनुभवबाट बुझेका छन् ।
उनका अनुसार मासिक किस्ताको व्यवस्था कृषि व्यवसायमा उपयुक्त हुँदैन किनभने खेतमा लगानी गरेपछि आम्दानी आउन कम्तीमा पाँच–छ महिनासम्म कुर्नु पर्छ । त्यसैले उनले त्रैमासिक किस्ताको माग गर्दै आएका छन् र ब्याजदर समेत किसानको हैसियतअनुसार घटाउनु पर्ने सुझाव दिन्छन् । साथै, लघुवित्त संस्थाले ऋण मात्र नदिएर समय–समयमा तालिम र जानकारीमूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने उनले बताए । जसले किसानलाई ऋणको सदुपयोग गर्न, दिगो व्यवसाय बनाउने दृष्टिकोण विकास गर्न र आत्मनिर्भर बन्न थप सहयोग पुर्याउँछ ।
गर्तौलाले लघुवित्तबाट एकपटक तालिम लिएका थिए जसले उनलाई ऋण व्यवस्थापन र लगानीका विषयमा गहिरो जानकारी दिएको थियो । उनी भन्छन्, ऋणले कहिल्यै डुबाउँदैन, डुबाउने हाम्रो सोच हो । यदि ऋण गलत ठाउँमा खर्च गरियो भने समस्या निम्तिन सक्छ, तर यदि त्यसलाई सोच, योजना र मेहनतका साथ प्रयोग गरियो भने सफलता सुनिश्चित हुन्छ । अहिले उनी कृषिबाट मासिक राम्रो आम्दानी गर्दै छन्, आफ्ना सन्तानको शिक्षा, परिवारको जीवनशैली र सामाजिक स्थानमा समेत सकारात्मक परिवर्तन आएको उनी बताउँछन् ।
कुनै समय बिस हजारको ऋणबाट सुरु गरिएको सानो खेती आज १६ रोपनीमा फैलिएको छ र त्यससँगै राजेन्द्र गर्तौलाको आत्मविश्वास, आर्थिक हैसियत र समाजमा स्थान पनि ठुलो भएको छ । उनको कथा हजारौं कृषकका लागि प्रेरणाको स्रोत बनेको छ र देखाएको छ कि सानो ऋण, सही सोच र निरन्तर मेहनतबाट आत्मनिर्भरता मात्र हैन, नमुना सफलताको कथा पनि लेख्न सकिन्छ ।



Discussion about this post