काठमाडौं, २ साउन । नेपाल टेलिकमको नाममा जागिर दिलाइदिने भन्दै सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। उक्त गिरोहले झुटा सूचना फैलाउँदै अनलाइन फारम भराउन लगाई विज्ञापन दस्तुरको नाममा रकम असुल्ने कार्य गर्दै आएको छ।
यस्तो ठगी गतिविधिको पृष्ठभूमिमा नेपाल टेलिकमले एक सूचना प्रकाशित गर्दै सेवाग्राहीहरूलाई सचेत रहन आग्रह गरेको छ।
कम्पनीका अनुसार सामाजिक सञ्जालमा आकर्षक प्रस्तावसहित जागिरका लागि फारम भराउन लगाउने र पैसा असुल्ने गिरोहको गतिविधि देखिएको हो। यसरी ठगीमा पर्ने सम्भावना रहेको भन्दै टेलिकमले यस्ता भ्रामक प्रचारप्रसारबाट टाढा रहन सुझाव दिएको छ।
टेलिकमले आफ्ना सेवाहरू तथा रोजगारीसम्बन्धी सूचना प्राप्त गर्नका लागि कम्पनीको आधिकारिक वेबसाइट वा नील चिन्ह (ब्लू टिक) भएको फेसबुक र एक्स (पूर्व ट्विटर) खातालाई मात्र विश्वास गर्न आग्रह गरेको छ।
कम्पनीले यस्ता गलत क्रियाकलापका विरुद्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने बताएको छ र सेवाग्राहीहरूले शंका लागेमा तुरुन्तै सम्बन्धित निकायमा जानकारी गराउन समेत अनुरोध गरेको छ।
यसअघि पनि विभिन्न सरकारी तथा गैर-सरकारी संस्थाहरूको नाममा यस्ता ठगी प्रयासहरू भइरहेका घटना सार्वजनिक हुँदै आएका छन्। विज्ञहरूका अनुसार डिजिटल साक्षरताको अभावका कारण धेरै सर्वसाधारण यस्ता झुटा सूचना र प्रलोभनमा परेर ठगीको शिकार बन्ने गरेका छन्।



Discussion about this post